काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए ।
छ महिनाको कार्यकाल भएको सरकारले १०० दिन पूरा गरेपछि नियुक्त भएका परराष्ट्रमन्त्री शर्माले निर्वाचनका सन्दर्भमा परराष्ट्र मन्त्रालयले छिमेकी मुलुकहरूसँग आवश्यक परे सहकार्यसम्बन्धी विषयहरू उचित ढंगले उठान गर्ने बताएका छन् ।
प्रधानमन्त्रीबाट कार्यादेश प्राप्त भएपछि मात्र आफ्ना प्राथमिकता र योजनाबारे स्पष्ट जानकारी गराउने मन्त्री शर्माले पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग बताए । “म भर्खरै आएर पदभार ग्रहण गरेको हुँ । कार्यादेश आउन बाँकी छ, त्यो आएपछि मात्र म आफ्ना कामका विषयमा स्पष्ट रूपमा भन्न सक्छु,” उनले भने ।
मन्त्री शर्माले छोटो समयमै भए पनि मुलुकको उन्नति–प्रगतिमा योगदान दिन सकिन्छ भन्ने विश्वासका साथ मन्त्री पद स्वीकार गरेको बताए ।
सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “यो मुलुक हाम्रो हो । जिम्मेवारी खाली राख्दा विभिन्न समस्या उत्पन्न हुन सक्छन् । त्यसकारण नियमित प्रक्रियामा बाधा नपरोस् र हामी आएर मन्त्रालय वा मुलुकको हितमा केही सकारात्मक प्रगति गर्न सक्छौँ भने त्यसलाई रोक्नु हुँदैन भन्ने सोचका साथ म आएको हुँ ।”
पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ ।
राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।
प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको सफल नेतृत्व गरेका उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।

























