काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबीच निर्वाचनलाई केन्द्रमा राखेर छलफल भएको छ । गुण्डुमा ओलीसँगको भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण तयार भइसकेको र एमाले पनि चुनावको तयारीमा जुटिरहेको बुझिएको बताए ।
उनका अनुसार सरकारले प्रमुख राजनीतिक दलका कार्यालयमा पुगेर शीर्ष नेतासँग छलफल गरिरहेको छ । “राष्ट्रपतिले पनि शीर्ष नेतृत्वसँग संवाद गर्नुभएको छ,” खरेलले भने, “सरकारको तर्फबाट सुरक्षा व्यवस्था मजबुत रहेको जानकारी गराएँ । सरकार चुनावका लागि पूर्ण रूपमा तयार छ र निर्वाचनमा सहभागिता जनाउन आग्रह गर्न पनि आएको हुँ।”
खरेलले ओलीले निर्वाचनको वातावरणबारे केही शंका व्यक्त गरेको उल्लेख गरे । “सुरक्षा अझ राम्रो बनाइनुपर्छ भन्ने दलको भनाइ स्वाभाविक हो,” उनले भने, “चुनाव बहिष्कार गर्ने अवस्था छैन । दल दर्ता भइसकेको छ । समन्वय र छलफलमार्फत अघि बढ्ने कुरा छ ।”
सरकारले ओलीमाथि लगाएको स्थान हदबारे सोधिएको प्रश्नमा खरेलले सरकारको मुख्य लक्ष्य निर्वाचन नै भएको स्पष्ट पारे । “निर्वाचन सफल बनाउन यदि कुनै अवरोध, चुनौती वा अप्ठ्याराहरू छन् भने तिनलाई सहज बनाउँदै अघि बढ्नुपर्छ,” उनले भने, “चुनावको गन्तव्यमा पुग्न आवश्यक वातावरण सरकारले बनाउँछ र बनाएरै अघि बढ्छ ।”
























