काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई शीघ्र निर्वाचनको वातावरण तयार गर्न सुझाव दिएका छन्।
बिहीबार बिहान आफ्नै निवासमा भेट्न पुगेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले निर्वाचनका लागि विश्वसनीय वातावरण अझै नबनेको भन्दै सरकारलाई त्यसतर्फ गम्भीर हुन आग्रह गरेका हुन्।
देउवाको भनाइ उद्धृत गर्दै उनको सचिवालय सदस्यले भने, “सरकारले निर्वाचनका लागि आवश्यक विश्वसनीय वातावरण अझै बनाइसकेको छैन, छिटो बनाओस्।”
संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदले सर्वोच्च अदालतमा रिट दायर गरे पनि नेपाली कांग्रेसको आधिकारिक धारणा निर्वाचन नै रहेको देउवाले स्पष्ट पारेका छन्।
यसैबीच सञ्चारमन्त्री खरेलले कांग्रेस सभापति देउवासँगको भेटपछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

























