काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अनुकूल वातावरण बनाए निर्वाचनमा जान एमाले तयार रहेको बताएका छन्। स्वतन्त्र र धाँधलीरहित चुनाव हुनुपर्ने एमालेको स्पष्ट धारणा रहेको उनले उल्लेख गरे।
‘सरकारले निर्वाचनको परिस्थिति बनायो भने हामी चुनावमा सहभागी हुन्छौँ। हामी चुनावमा जान्छौँ र बहुमत ल्याउँछौँ,’ ओलीले भने, ‘स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने हाम्रो चाहना हो। हामी त्यसैको प्रतीक्षामा छौँ। जस्तोसुकै परिस्थितिका लागि पनि हामी तयार छौँ।’
उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको संयुक्त बैठकबारे पनि धारणा राखे। उक्त भेटमा आफूहरूले चुनाव विरोधी नभएको र प्रतिगमन हुन नहुने स्पष्ट रूपमा राखिएको उनले बताए।
‘हामीले राष्ट्रपतिलाई भन्यौँ—हामी चुनावको विपक्षमा छैनौँ। प्रतिनिधिसभा पुनर्स्थापना छिटो हुनुपर्छ भन्ने कुरा पनि उठ्यो,’ ओलीले भने, ‘यो विषय अदालतमा विचाराधीन छ, अदालतले जे फैसला गर्छ, त्यहीअनुसार हुनेछ।’
प्रधानमन्त्री र राष्ट्रपतिले निर्वाचनको कुरा गरिरहेको भए पनि व्यवहारमा वातावरण नबनेको ओलीको भनाइ छ। ‘अहिले पनि विभिन्न ठाउँमा आक्रमण भइरहेका छन्, नेताहरूलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न दिइएको छैन। यस्तो अवस्थामा निर्वाचनको वातावरण कसरी बन्छ ?’ उनले प्रश्न गरे।
महाधिवेशनका स्वयंसेवकहरूलाई धन्यवाद दिँदै ओलीले पार्टीका युवाहरू दुर्व्यसनीबाट टाढा रहेको दाबीसमेत गरे। ‘देशमा चर्चित भनिएका केही मानिसहरू नसामा फसेका भेटिन्छन्, तर हाम्रा युवाहरूमा त्यस्तो दुर्व्यसन देखिएन,’ उनले भने, ‘मेरो भनाइ मन नपरेर वा इखले दुर्व्यसनमा परेकाहरूले पनि त्यो छाडे भने म अझ खुसी हुने थिएँ।’
























