काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अन्तरिम सरकारको नेतृत्व गर्न दिन आग्रह गरेका छन्। बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले देशलाई अग्रगामी निकासतिर लैजान सर्वपक्षीय सरकार आवश्यक रहेको बताएका हुन्।
विप्लवले वर्तमान परिस्थितिमा राजनीतिक सहमतिबाट निकास खोज्नुपर्ने उल्लेख गर्दै भने, ‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ। अहिलेको सरकारलाई पनि छलफलमा ल्याएर समाधान निकाल्नुपर्छ। जनताका अधिकार अझै अधुरा छन्, संविधान पनि अपूर्ण छ।’
उनले समाजवादी संघीयतालाई आजको नेपालको उपयुक्त ढाँचा बताउँदै अग्राधिकारसहितको संघीय संरचना आवश्यक रहेको धारणा राखे। सबै राज्यका अंगहरूलाई पुनःसंरचना गरेर सबै नागरिकले अपनत्व महसुस गर्ने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिइए आन्दोलनकारी र जनतालाई चित्त बुझ्ने गरी राज्यलाई निकासतर्फ लैजाने पहल गर्ने उनले दाबी गरे। ‘राजनीतिक शक्तिहरूको सहमतिबाट कानुनी, राजनीतिक र प्रशासनिक क्षेत्रमा रहेका अपूर्णता समाधान गरेर देशलाई निर्वाचनतर्फ लैजानुपर्छ,’ उनले भने।
विप्लवले राष्ट्रपति समक्ष १३ बुँदे माग प्रस्तुत गरिसकेको र प्रधानमन्त्रीलाई पनि मागपत्र बुझाउने तयारी रहेको जानकारी दिए। मागबारे १० दिनभित्र छलफल नभए जनताको साथमा जेनजीसहित अग्रगामी राजनीतिक शक्तिहरूको सहभागितामा परिवर्तनकारी आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।
























