काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता गर्ने सहमति भएको छ। बुधबार राप्रपा पार्टी कार्यालय धुम्वाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको । सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरे।
दुई पार्टीबीच एकता घोषणा सभा भने पुस १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ। एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको सुझाव, दबाबलाई ध्यानमा राखेर विगतका कमी कमजोरी नहोदरिने गरी एक हुने निर्णय गरेको बताए। उनले राष्ट्रवादी शक्तिलाई एकतामा आउन आह्वानसमेत गरे।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले समय र परिस्थितिले एकै ठाँउ आउने अवस्था बनेको भन्दै विगतका कमी कमजोरीबाट पाठ सिक्दै पार्टीलाई अघि बढाउने बताए। उनले चुनावभन्दा अघि भ्रष्टाचार र कुशासनको अन्त्यका लागि उपयुक्त तयारी गर्न सकेमात्रै चुनावको अर्थ हुने बताए। चार वर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए।


























