काठमाडौं । नेपाली कांग्रेसले २०७९ को निर्वाचनका लागि विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले विभिन्न प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय भएको जानकारी दिए।
उनले भने, ‘कार्यसम्पादन समितिको बैठकले प्रदेश सभामा बन्दीसूचीमा रहेका १९ जनाको नाम हटाएर संघीय समानुपातिकमा जान चाहनेहरूको सूची पास गरेको छ। पार्टीको उक्त निर्णय निर्वाचन आयोगलाई बुझाउँछौं।’
उनले भोलि पनि कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिए। भोलिको बैठकमा महाधिवेशनको कार्यतालिकालगायत विषयमा छलफल हुने उनको भनाइ छ ।

























