काठमाडौं । सरकारका मन्त्रीसहितको प्रतिनिधिमण्डलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयको अनुगमन तथा भेटवार्ता गरेको छ । कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित अनुगमन समितिले धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेर आसन्न निर्वाचनलगायतका विषयमा सरकारका तयारीबारे जानकारी गराएको हो ।
अनुगमन टोलीमा कानुनमन्त्री सिन्हासहित सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सहभागी थिए । टोलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी निष्पक्ष, भयरहित र समयमै निर्वाचन सम्पन्न गर्न सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी गराएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
उनका अनुसार निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको र सुरक्षा संयन्त्र निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न सक्षम रहेको विषयमा सरकारी टोलीले आश्वस्त तुल्याउने प्रयास गरेको थियो ।
भेटका क्रममा राप्रपाले निर्वाचनअघि नै देशलाई “नवीन समझदारीको फराकिलो राजमार्ग”मा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै आफ्नो धारणा सरकारसमक्ष पुनःस्मरण गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अध्यक्ष लिङ्देनले प्रजातान्त्रिक दलका रूपमा राप्रपाले चुनावलाई सकारात्मक र जिम्मेवार ढंगले सदुपयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

























