काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष १३ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । बुधबार शीतल निवास पुगेर पार्टीका महासचिव विप्लव सीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र आवश्यक सुधारका विषय उठाउँदै ज्ञापनपत्र पेश गरेका हुन् ।
जेन–जी आन्दोलनपछि राजनीतिक अन्योल बढेको दाबी गर्दै पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । गणतन्त्र स्थापना भएको १८ वर्ष बितिसक्दा पनि भ्रष्टाचार, दलीयकरण र बेरोजगारी झनै मौलाएकाले जनता सडकमा उत्रिन बाध्य भएको उनीहरूको ठहर छ ।
विप्लव नेतृत्वको पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्न र संविधान पुनर्लेखन गर्नुपर्ने अडानसमेत अघि सारेको छ । साथै, भदौ २३–२४ मा भएको गोलीकाण्ड र विध्वंसका घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरिएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्दै जन्मकैदको सजाय दिनुपर्ने, कालोधन नियन्त्रणका लागि ५ सय र १ हजार दरका नोट खारेज गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समावेश छन् ।
पार्टीले १० दिनभित्र माग सम्बोधन नभए सडक संघर्षमा उत्रिने चेतावनीसमेत दिएको छ ।


























