काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानका लागि बोलाएपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गर्ने भएका छन् ।
आयोगलाई दिनुपर्ने बयानबारे छलफल गर्न लेखक आज देउवा बस्दै आएको महाराजगञ्जस्थित भाडाको निवासमा जान लागेका हुन् ।
स्रोतका अनुसार नेता लेखकलाई छलफलका लागि बोलाइएको हो । तर, भेटघाटको समय भने खुलाइएको छैन ।
यसअघि लेखकले आयोगले बयानका लागि बोलाएको विषयमा आफू ‘सल्लाह गरिरहेको’ प्रतिक्रिया दिएका थिए । आयोगले पठाएको पत्र भने अहिलेसम्म प्राप्त नभएको उनको भनाइ छ ।
‘पत्र हिजो पठाएको छ भन्ने सुनेको छु, तर मैले पाएको छैन,’ उनले भने, ‘के गर्ने भन्नेबारे सल्लाह गर्दैछु ।’
विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो ।

























