काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज प्रधानमन्त्री तथा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच भएको बैठक सकिएको छ ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउने समझदारी जुटेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
मङ्गलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच राष्ट्रपतिको उपस्थितिमा छलफल भएको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको वातावरण निर्माणबारे विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति पनि बनेको छ।
बैठकमा राष्ट्रपति पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै राजनीतिक निकासका लागि निर्वाचन अपरिहार्य भएको बताए । उनले भने ‘देशको वर्तमान परिस्थितिमा निकास दिनका लागि निर्वाचनको घोषणा गरिएको हो। यस गम्भीरतालाई ध्यानमा राख्दै निर्वाचन सफल बनाउनु हामी सबैको साझा दायित्व हो।’
राष्ट्रपति पौडेलले फागुन २१ गते तय भएको निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।



















