काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही लम्बिन सक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित किशुनजीको जीवन र व्यक्तित्व विषयक कार्यक्रममा कोइरालाले आफू तोकिएको समयमा नै महाधिवेशन गर्नुपर्ने पक्षमा नै रहेको भन्दै क्रियाशील सदस्यका विषयमा भएको ढिलाइले महाधिवेशन केही लम्बिन सक्ने देखिएको बताएका हुन् ।
नयाँ क्रियाशील सदस्य वितरणका क्रममा देशभर सिरियल नम्बर नै नभएको कागजात पठाएपछि आफू चनाखो भएको उनले बताए । कोइरालाले महाधिवेशन केही लम्विए पनि त्यसले खासै फरक नपर्ने धारणा राखे ।
उनले विशेष अधिवेशनको माग गर्ने र चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने समूहले आफूलाई खेलाउन खोजेको महसुस भएपछि चुनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्नेमा आफूले मागमा अडिक भएको बताए ।
शान्ति सुरक्षाको पूर्ण रुपमा प्रत्याभूति नभएसम्म हुन नसक्ने भन्दै उनले चुनावको नाममा धाँधली गरेर कसैलाई जित्न नदिने उल्लेख गरे । उनले देश यही अवस्थामा रहन्छ वा रहँदैन भन्नेमा चिन्ता गर्नुपर्ने अवस्था देखिएको बताए ।
कोइरालाले आगामी दिनमा नेपालमा फेरि अर्को दुर्घटना हुन सक्ने भन्दै त्यसलाई रोक्न सबै गम्भीर हुनुपर्नेमा जोड दिए । जेन-जीको आन्दोलनका क्रममा भाद्र २४ गतेको घटना नेपालको राष्ट्रियता कमजोर भएर घटेको हिंसा भएको उनको भनाइ छ ।
























