काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।
अनुसन्धानका लागि एक महिना थप समय पाएको आयोगले भदौ २३ गते भएको दमनबारे जानकारी माग्नका लागि बयानमा बोलाएको हो ।
भदौ २३ गते लेखक गृहमन्त्रीमा बहाल रहेको अवस्थामा काठमाडौंको संसद् भवन बाहिर १७ र सुनसरीको इटहरीमा २ जनासहित १९ जनाले तत्कालै ज्यान गुमाएका थिए ।
त्यसपछि भदौ २४ गते भएको विध्वंशकारी प्रदर्शनमा व्यापक जनधनको क्षति भएको थियो । ती दुई दिनमा ७६ जनाले ज्यान गुमाएका थिए ।
यी दुई दिने आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई भने आयोगले पत्र काटेको छैन । तत्कालीन गृहमन्त्री लेखकले बयान दिइसकेपछि मात्रै ओलीलाई बोलाउने तयारी आयोगको छ ।
तर ओलीले गोली खान तयार हुने तर बयान दिन नजाने अडान राखेका छन् । एमालेले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई असंवैधानिक र विवादित भनिरहेको छ। उसले आयोग नै खारेज हुनुपर्ने बताइरहेको छ ।
























