काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका तीन राजनीतिक दलका पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अनुगमन गरेको हो ।
अनुगमन टोलीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत सहभागी थिए ।
टोलीले कांग्रेस केन्द्रीय कार्यालयमा उपसभापति धनराज गुरुङ, एमाले कार्यालयमा महासचिव शंकर पोखरेल तथा माओवादी केन्द्रको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूसँग निर्वाचनलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गरेको छ ।

























