काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा नेताहरूसँग छलफलपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले पनि निर्वाचनमा जाने स्पष्ट पारेका छन् ।
मंगलबार मध्याह्न सरकारी वार्ता टोली एमाले कार्यालय पुगेको थियो । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको कार्यालयको निरीक्षणपछि वार्ता टोलीले एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरूसँग छलफल गरेको हो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचनमा सहभागी हुने विषयमा एमालेले सकारात्मक धारणा राखेको बताए । “निर्वाचन आयोग आफ्नो जिम्मेवारीमा सक्रिय छ, सुरक्षा निकायहरू पनि उच्च मनोबलका साथ परिचालित छन्,” उनले भने, “निर्वाचनको वातावरण बनाउन एमालेले भूमिका खेलिदिनुपर्छ, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्ने कुरा पार्टीका महासचिवले स्पष्ट रूपमा राख्नुभएको छ ।”
स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । “निर्वाचन प्रचारप्रसार र अभियानका क्रममा कुनै पनि नेता वा कार्यकर्तालाई अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्नेछ,” मन्त्री खरेलले भने, “नेताहरू सहज रूपमा मत माग्न जान पाउने वातावरण बनाउने हाम्रो दायित्व हो ।”
जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकसहित केही नेताहरूलाई स्थानहद लगाई काठमाडौँ बाहिर जान रोक लगाएको विषयमा पनि एमाले नेताहरूले वार्ता टोलीसँग जिज्ञासा राखेका थिए ।
यस विषयमा मन्त्री खरेलले सरकार कानून, अधिकार क्षेत्र र प्रक्रियाभित्र रहेर आवश्यक वातावरण मिलाउन तयार रहेको स्पष्ट पारे । “आयोगको काममा नकारात्मक असर नपर्ने गरी सरकार अघि बढ्छ,” उनले भने, “तर निर्वाचनमा सहभागी हुन उठाइएका जायज मागहरूलाई पनि बेवास्ता गर्न सकिँदैन ।”
सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा तीन सदस्यीय राजनीतिक वार्ता समिति गठन गरेको छ । उक्त टोलीले विभिन्न राजनीतिक दलहरूसँग छलफल अघि बढाइरहेको छ ।
यसअघि मंगलबार बिहान वार्ता टोली नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेर उपसभापति धनराज गुरुङलगायतका नेताहरूसँग छलफल गरेको थियो ।

























