काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ ।
भेटमा रास्वपाका उपसभापति डिपी अर्याल पनि सहभागी रहेको जनाइएको छ। स्रोतका अनुसार दुवै नेताबीच वान–टु–वान छलफल भइरहेको छ।
भेटवार्तामा समसामयिक राजनीतिक अवस्था र भावी योजनाका विषयमा केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ।
शनिबार जेलमुक्त भएपछि सभापति लामिछानेले राजनीतिक गतिविधि तथा भेटघाटलाई तीव्रता दिँदै आएका छन् ।
यसैबीच, मेयर शाहले भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे सोमबार राष्ट्रिय मानवअधिकार आयोगमा उपस्थित भई बयान दिएका छन् । आयोग स्रोतका अनुसार ती दुई दिन सामाजिक सञ्जालमा लेखिएका स्ट्याटसदेखि घटनाक्रम अवधिभर मेयर शाहको गतिविधिबारे सोधपुछ गरिएको थियो ।

























