काठमाडौं । नेकपा एमालेले फागुन २१ गते निर्वाचन हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको जनाएको छ।
निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा एमाले सचिव महेश बस्नेतले फागुन २१ गते हुनेमा विश्वास गर्ने आधार अझै देखापर्न नसकेको बताएका हुन्। उनले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने एमालेको निष्कर्ष रहेका सुनाए।
सचिव बस्नेतले पुराना दललाई गाली गरेर निषेध गरेर, स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताए। उनले सरकारले लोकतान्त्रिक अभ्यास मिचेर अध्यादेश ल्याइएको भन्दै आपत्ति जनाए।
त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले फागुन २१ गतेभन्दा कुनै तलमाथि नगर्न सरकारलाई सुझाव दिँदै उचित वातावरण बनाउन सुझाव दिए। निर्वाचन भनेर मात्रै नहुने भन्दै उनले जनताले विश्वास गर्नेगरी सरकारले काम गर्नुपर्नेमा जोड दिए।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको भन्दै निर्वाचनलाई धकेल्ने प्रयास नगर्न आग्रह गरे। उनले सबै राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए।
त्यस्तै अन्य दलका नेताहरूले वर्तमान सरकारको म्याण्डेड चुनाव भएकाले चुनावलाई असर पर्ने कुनै पनि काम नगर्न ध्यानाकर्षण गराएका थिए ।

























