काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिनुका साथै अन्तरजिल्ला मतदानको व्यवस्था मिलाउन चार वटा विद्यमान ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ ।
सोमबार गृह मन्त्रालयमा आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले सर्वोच्च अदालतको फैसला र विभिन्न सरोकारवालाबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानुन संशोधन भइरहेको जानकारी दिए।
उनका अनुसार सरकार र निर्वाचन आयोगको सहकार्यमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, अन्तरजिल्लाबाट प्रत्यक्ष वा समानुपातिकतर्फ मतदान गर्न सकिने र कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने विकल्प समेत समेटेर चार वटा ऐन संशोधन गर्न लागिएको हो।
संशोधन प्रस्तावअनुसार मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प राखिनेछ। साथै मतदाताले अन्तरजिल्लाबाट प्रत्यक्ष, समानुपातिक वा दुवै तर्फ मतदान गर्न सक्ने व्यवस्था मस्यौदामा समावेश गरिएको छ।
विदेशमा हुने निर्वाचनका लागि नेपाली नियोगमा मतदान केन्द्र स्थापना, मतदाताको पहिचान सुनिश्चित गर्ने व्यवस्था लगायत विषयमा पनि ऐन संशोधन गरिने काफ्लेले बताए।
यसैगरी, उनले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सुरक्षा योजना तयार भइसकेको र कार्यान्वयनको चरणमा रहेको जानकारी पनि दिए।

























