काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्थाका विषयमा दिएको अभिव्यक्ति आश्चर्यजनक भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको भन्दै आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको भन्दै प्रश्न गरेका छन् ।
उनले लेखेका छन्– ‘पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’
नेता ज्ञवालीले पार्टी महाधिवेशन सकिए लगत्तै केही नेताहरूले छुट्टै भेला गरेको घटनाप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।
महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले त्यसका निर्णय अन्तिम हुनुपर्ने उनको भनाइ छ । उनले निर्णय नमानिने र ‘मुद्दा कायमै’ राखिने प्रवृत्तिले पार्टी अन्त्यहीन बहसको क्लबमा रूपान्तरण हुने चेतावनी समेत दिएका छन् ।
नेता ज्ञवालीले महाधिवेशन एक वर्ष अगावै आयोजना गर्नुको मुख्य कारण नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाइएका प्रश्नको स्पष्ट उत्तर दिनु रहेको बताए ।
महाधिवेशनले ती सबै प्रश्नको द्विविधारहित जवाफ दिँदै नेतृत्वलाई पुनः अनुमोदन गरिसकेको अवस्थामा महाधिवेशनअघि बोकेको ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ जस्ता बहसलाई निरन्तरता दिँदा पार्टी कहीँ नपुग्ने उनको टिप्पणी छ ।
उनले लेखेका छन्– ‘अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिँदैन ।’
तीन महिनाको छोटो अवधिमै पार्टीलाई सम्हालेर एक बिन्दुमा ल्याउन सफल भएको दाबी गर्दै उनले अझै लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी रहेको उल्लेख गरेका छन् । नेता ज्ञवालीले अब पार्टीको समग्र ऊर्जा यिनै एजेन्डामा केन्द्रित हुनुपर्नेमा समेत जोड दिएका छन् ।
























