काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ।
भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले तथा महामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहभागी थिए ।
उच्चस्तरीय राजनीतिक भेटलाई चासोका साथ हेरिएको छ भने छलफलका विषयवस्तु सार्वजनिक गरिएको छैन ।
थुनामुक्त भएपछि आजबाट पुनः पार्टी सभापतिको जिम्मेवारी सम्हालेका लामिछानेलाई आइतबार दिउँसो पार्टी कार्यालय पुग्दा बाजागाजासहित स्वागत गरिएको थियो।
स्वागतपछि उनले उपस्थित कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै जेन–जी आन्दोलनका शहीदका माग पूरा गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने तथा तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्नुपर्ने विषयमा धारणा व्यक्त गरेका थिए ।

























