काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी समूहले भोलिदेखि देशव्यापी रूपमा ‘संयुक्त जेन–जी’ आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आइतबार आयोजित एक कार्यक्रममा समूहले आन्दोलनको औपचारिक घोषणा गरेको हो।
ढुंगानाले भोलि बिहान ११ बजे माइतीघरमा भेला हुन सबैलाई आह्वान गरेका छन्। उनका अनुसार भदौ २३–२४ गते भएको जेन–जी आन्दोलनले उठाएका मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको छ। सरकारको सय दिनको कार्यकालमा जनताले महसुस गर्ने खालको कुनै उपलब्धि नभएको उनले टिप्पणी गरे।
ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको मर्म नबोकेको र समग्र युवाको नेतृत्व गर्न असफल भएको आरोप लगाउँदै सर्वपक्षीय सरकार गठनको माग गरे। सरकारको सय दिनको कार्यसम्पादन असफल भइसकेको दाबी गर्दै उनले सोमबारदेखि आन्दोलनमा जाने घोषणा गरे।
‘भदौमा भएको जेन–जी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड वा नेताको सिँढी बन्नका लागि होइन,’ उनले भने, ‘आन्दोलनमाथि टेकेर कोही अग्लिने प्रयास गर्नु हुँदैन। सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन र हाम्रो नेतृत्व गर्दैन। त्यसैले अब सर्वपक्षीय सरकार आवश्यक छ।’
उनले सबै पक्षलाई विश्वासमा लिन सक्ने राजनीतिक नेतृत्व आजको आवश्यकता भएको उल्लेख गर्दै देशलाई निकास दिन सक्ने सरकार गठन हुनुपर्ने धारणा राखे।
ढुंगानाले आन्दोलन ०८४ को निर्वाचन ०८२ मा सार्ने उद्देश्यले नभएको स्पष्ट पार्दै सरकार चुनावको विषयमै अल्झिएको आरोप लगाए। ‘यो सरकारले निकास दिने काम गरेको देखिँदैन। सुशीला कार्की किन बारम्बार चुनावको कुरा मात्र गर्नुहुन्छ ?’ उनले प्रश्न गरे।
आन्दोलन घोषणा कार्यक्रममा रविकिरण हमाललगायत विभिन्न जेन–जी अभियन्ता तथा अगुवाहरूको उपस्थिति रहेको थियो।

























