काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आइतबार बिदाइ भेटघाट गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार र संसदीय सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङलाई बधाई दिँदै नेपाल–चीन सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार र दुवै देशका संसदबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्याएको योगदानको उच्च प्रशंसा गरे। उनले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास पनि व्यक्त गरे।
भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै देशमा आयोजित विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याएको बताए। उनले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र तथा भरपर्दो साझेदार रहँदै आएको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान र सहयोगका आधारमा सम्बन्ध अघि बढिरहेको उल्लेख गरे।
सभामुख घिमिरेले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्दै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे। साथै चीनको सहयोगले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा सहयोग पुगेको उल्लेख गर्दै त्यसको प्रशंसा गरे। उनले संसदस्तरीय प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाएको बताए।
चीन सरकारबाट प्राप्त हुँदै आएको विकास सहायताप्रति आभार व्यक्त गर्दै सभामुख घिमिरेले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका तथा अन्य विकास परियोजनाहरू समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। बीआरआई परियोजनाबाट दुवै देशले पारस्परिक लाभ लिन सक्ने विश्वास पनि उनले व्यक्त गरे।
जवाफमा चिनियाँ राजदूत छन सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिँदै आएको बताए। उनले आफ्नो कार्यकालमा सन् २०२० मा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरे।
राजदूत सोङले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध बलियो भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको धारणा राखे। हालै सम्पन्न नेपाल–चीन आर्थिक सहकार्य तथा लगानीसम्बन्धी कार्यशालाको स्मरण गर्दै उनले धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको बताए। आफ्नो कार्यकालका क्रममा सभामुखसहित नेपालका शीर्ष नेताहरूबाट प्राप्त सहयोग र सद्भाव सधैँ स्मरणीय रहने पनि उनले बताए।

























