काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजले आफ्ना मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताएकी छन्। संस्कृतिभित्र रहेका हानिकारक प्रथाहरू क्रमशः हटाउँदै जानुपर्ने भए पनि मौलिक पहिचान झल्काउने परम्परा र वेशभूषा जोगाउनुपर्ने उनको भनाइ छ।
आइतबार तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आ–आफ्ना परम्परागत पोसाक लगाउने व्यवस्था गर्ने विषयमा विचार गर्न सकिने बताइन्।
‘आधुनिकताका नाममा कतिपय समाज आफ्नो मौलिक पहिचान बिर्सँदै गएको देखिन्छ,’ उनले भनिन्, ‘आफ्नो पहिचान नै के हो भन्ने थाहा नपाउने अवस्था आउनु चिन्ताजनक हो। तर नेपाली समाज विविध र समृद्ध संस्कृति तथा परम्पराले भरिएको छ, जसलाई संरक्षण गर्नैपर्छ।’
भेटका क्रममा परिषद्ले आउँदो पुस १५ गते आयोजना हुने तमु ल्होसार कार्यक्रमका लागि प्रधानमन्त्री कार्कीलाई प्रमुख अतिथिका रूपमा सहभागी हुन आमन्त्रण गरेको छ। परिषद्का महासचिव राजु गुरुङले औपचारिक रूपमा निमन्त्रणापत्र वाचन गरेका थिए

























