काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य तथा बिघटित प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा समेत रहेकाले राष्ट्रपतिले सम्वैधानिक कमजोरी सच्याउँदै संसद पुनस्र्थापनाको घोषणा गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपतिको गम्भिर संवैधानिक असावधानी र कमजोरी कै कारण सार्वभौम नेपाली जनताको बिबेकको मतले निर्वाचित जनप्रतिनिधिमुलक सर्वोच्च संस्था प्रतिनिधिसभाको षडयन्त्रमुलक र असंवैधानिक ढङ्गबाट बिघटन भएको वताउँदै बतौंलाले भनेका छन् ‘यो केवल संसदको बिघटन मात्रै होइन यो त लोकतन्त्रको आत्मा माथीको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिर छेदन समेत हो । यद्यपी यसका बिरुद्ध संवैधानिक परिक्षण र उपचारको लागि दर्जनौं रिटहरु समेत सम्मानित अदालतमा दर्ता भइ बिचाराधिन अवस्थामा रहेको छ । तर यस अवस्थासम्मको संवैधानिक कमजोरी सम्माननीय राष्ट्रपतिज्युबाट नै भएकाले जुन बिन्दुबाट कमजोरी भएको हो सोही बिन्दुबाट त्यसलाई सच्याउन सम्माननीय राष्ट्रपतिज्युले अदालतमा बिचाराधिन रिटहरु माथिको आदेश कुरिरहनु पर्दैन, सम्माननीय राष्ट्रपतिज्यु स्वयम्बाट संविधान सम्मत निर्णय हुन नसक्दा उत्पन्न संवैधानिक संकट र बढ्दो राजनीतिक अस्थिरताको तत्काल अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्युबाट नै संसद पुनर्स्थापना सम्बन्धी बिगतको नजिरका आधारमा समेत लोकतन्त्र, संविधान र राष्ट्रप्रतिको जवाफदेहितालाई शिरमा राख्दै अविलम्ब संसद पुनर्स्थापनको घोषणा गरी संसद को बैठक आह्वान गर्नु पर्दछ ।”
मुलुकका सामु सिर्जित आजको जटिल परिस्थितिमा निकासका लागि अनिवार्य संवैधानिक कर्तब्य र जिम्बेवारी राष्ट्रपतिको भएको बताउँदै बर्तौलाले भनेका छन् “बिद्यमान समग्र राजनीतिक प्रश्न, गुनासा र मुद्दाहरुको संवैधानिक तथा लोकतान्त्रिक समाधान दिन सकिन्छ र मुलुकको दीर्घकालिन हितको प्रवर्धन समेत हुनेछ । तत्कालीन राजा ज्ञानेन्द्रले पनि २०५९ साल जेठ ८ गते बिघटन गरिएको प्रतिनिधि सभा (संसद) लाई अदालतको आदेश मार्फत नभइ २०६३ साल वैशाख ११ गते घोषणा मार्फत पुनर्स्थापना गरेका थिए ।”

























