काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्ने चाहना रहेको बताएका छन् ।
काठमाडौंमा शनिवार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए । तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।
सुशिला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्ने कुरा कसैले नपत्याएको उनको भनाई छ । प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनको लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे ।
उनले सर्वपक्षिय अन्तरिम सरकार गठन गरेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए । सर्वसहमतिबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने उनको भनाई छ । उनले जेन–जीको माग पनि प्रत्यक्ष निर्वाचित कार्यकारी नै भएको बताए ।
उनले वर्तमान सरकारले जेन–जी आन्दोलनको मागअनुसार भ्रष्टचारीलाई कारबाही अगाडी नबढाएको आरोप पनि लगाए । यो सरकारले जेन–जीका माग पूरा गर्न नसक्ने उनको भनाई छ । उनले निर्वाचनमार्फत नयाँशक्तिको उदय हुनुपर्नेमा पुरानै शक्तिहरु सलबलाउन थालेको पनि बताए ।

























