काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
कारागारबाट रिहा भएको भोलिपल्ट आज चितवनको चौबीसकोठीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत महत्वाकांक्षाभन्दा देश ठूलो भएको स्पष्ट पारे ।
भैरहवाबाट सिधै चितवन गएका लामिछानेले कारागारमै रहँदा पनि पार्टीलाई अघि बढाउन आग्रह गरेको स्मरण गराउँदै भने, “पार्टी बनाउनुस्, चुनाव चिन्ह, झण्डा, कार्यालय वा सिङ्गो पार्टी नै लैजानुस् । मलाई केही चाहिएको छैन, देश बन्नुपर्छ। व्यक्तिको महत्त्व ठूलो होइन।”
उनले अन्तिम समयमा संवादमार्फत सहमति जुट्ने विश्वास व्यक्त गर्दै राजनीति एउटा चुनावका लागि मात्र नभई पुस्तागत परिवर्तनका लागि गरिएको बताए ।
लामिछानेले सरकारलाई निष्पक्ष निर्वाचनको बाटोमा अघि बढ्न आग्रह गर्दै रास्वपा सुशासन र जनआन्दोलनका माग पूरा गराउन सरकारको साथमा रहने प्रतिबद्धता जनाएका छन् ।
सभापति लामिछानेले जेनजीको आन्दोलन र उनीहरूको माग प्रति आफ्नो समर्थन रहेको समेत बताए। जेनजीको आन्दोलन पछि बनेको सरकारले विचलित नभई चुनाव गराउनुपर्ने उनको भनाइ छ। उनले वर्तमान सरकारलाई रास्वपाको पूर्ण समर्थन रहेको स्पष्ट पारे।
त्यस्तै सभापति लामिछानेले देशमा परिवर्तन चाहनेसँग सहकार्य गर्न छलफल भइरहेको भन्दै यसका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।

























