काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशप्रति सम्मान व्यक्त गरेको छ।
पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा विधिको शासन, कानुनी सर्वोच्चता र न्यायिक प्रक्रियाप्रति पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू झुटा भएको र ती तत्कालीन निरंकुश सरकारले सुरु गरेको राजनीतिक प्रतिशोधको श्रृङ्खलाको हिस्सा भएको स्पष्ट भइसकेको दाबी गरिएको छ।
विज्ञप्तिमा हाल पनि ती मुद्दाहरू यथावत् रहेकाले वर्तमान नागरिक सरकारले आवश्यक कदम चाल्दै राजनीतिक प्रतिशोधको उक्त श्रृङ्खलालाई पूर्णविराम लगाउने विश्वास पार्टीले लिएको जनाइएको छ।
राजनीतिक प्रतिशोधविरुद्ध एकजुट भएर निरन्तर खबरदारी गर्ने देश–विदेशमा रहेका न्यायप्रेमी नेपाली तथा विभिन्न अभियानमार्फत न्यायको पक्षमा उभिएका पार्टी सदस्य, समर्थक र शुभेच्छुकहरूप्रति रास्वपाले आभार व्यक्त गरेको छ।
पार्टीले कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी सभापति रवि लामिछाने छिट्टै पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारीसमेत दिएको छ ।

























