काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सुशीला नेतृत्वको सरकारलाई चुनावको तयारी गर्न नसके बाटो छोड्न सुझाव दिएका छन् । भृकुटीमण्डमा सपथग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त सुझाव दिएका हुन्।
‘यो सरकारले सके निर्वाचन गराउनुपर्छ। सक्दैन भने बाटो लागे हुन्छ,’ उनले भने। अध्यक्ष ओलीले देश गम्भीर संकटमा रहेकाले राजनीतिक दलहरूलाई एक हुन आह्वान गरे।
उनले संविधान खारेज गर्ने विषय उठिरहेकाले राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताए। ‘राजनीतिक दलहरू गम्भीर हुनुपर्छ। संविधान विरोधी तत्त्वहरू छन्। उनीहरूले संविधान नै खारेज गर्ने कुरा गर्दैछन्। त्यसको पक्षमा उभिनका लागि पनि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ,’ उनले भने।
उनले संविधान संशोधन आवश्यक रहेको र त्यो गरिने पनि बताए। तर, संविधान खारेज सम्भव नरहेको उनको भनाइ छ ।

























