काठमाडौं । एमाले विभाजनका क्रममा २०७८ सालमा माधव नेपाल नेतृत्वको समूहसँग गएर पछि पुनः एमालेमा फर्किएका नेतामध्ये चार जना केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । उक्त समूहबाट उम्मेदवारी दिएका पाँच जनामध्ये चार जना विजयी भएका हुन् । तीमध्ये एक जनाबाहेक सबै संस्थापन पक्षको प्यानलमा समेटिएका थिए ।
नेपाल नेतृत्वको तत्कालीन एकीकृत समाजवादीले माओवादीसहितका वामपन्थी दलसँग एकता गर्ने निर्णय गरेपछि त्यसलाई अस्वीकार गर्दै एमाले फर्किएकी पार्टीकी संस्थापक सचिव तथा स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री १,९११ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। संस्थापन पक्षबाट सचिव पदमा उम्मेदवारी दिन चाहेकी झाँक्रीलाई पार्टी अध्यक्षकै निर्देशनमा स्थायी कमिटी सदस्यको हैसियतसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लगाइएको थियो। यही कारण उनी पदाधिकारीको प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन् ।
त्यस्तै, कृष्णकुमार श्रेष्ठ (किसान) १,५६० मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। बारा क्षेत्र नं. ४ बाट विघटित प्रतिनिधिसभा सदस्य रहिसकेका श्रेष्ठ पनि झाँक्रीसँगै एमालेमा फर्किएका नेता हुन् ।
तत्कालीन एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी पार्वती विशुंखे दलित महिला तर्फ १,८९५ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। दलित मुक्ति आन्दोलनमा सक्रिय विशुंखे राजनीतिक रूपमा अपमानित भएको अनुभूति भएपछि करिब एक वर्षअघि पुरानै पार्टीमा फर्किएकी थिइन्।
श्रमिक क्लस्टर खुलातर्फ १,५२६ मतसहित केन्द्रीय सदस्यमा विजयी भोलानाथ पोखरेल पनि तत्कालीन एकीकृत समाजवादीका संस्थापक केन्द्रीय सदस्य हुन्। कर्मचारी पृष्ठभूमिका पोखरेल २०८० सालमै एमालेमा फर्किएका थिए।
यद्यपि, एकीकृत समाजवादीबाट एमालेमा फर्किएका राजु गुरुङ भने केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन्। उनी लुम्बिनी प्रदेशको भौगोलिक खुला क्लस्टरबाट उम्मेदवार थिए तर संस्थापन पक्षको सूचीमा नपरेका कारण पराजित भए । परिणाम सार्वजनिक भएपछि उनले भने, “हारे पनि कुनै चिन्ता छैन। उपाध्यक्ष विष्णु पौडेललाई बधाई दिँदै आफूले पनि जितेको भनिसकेको छु।”
























