काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष पदको प्रतिस्पर्धामा पराजित भए पनि पार्टी र यसको अभियानप्रति आफ्नो प्रतिबद्धता कायमै रहने बताएका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग फराकिलो मतान्तरमा पराजित भएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन्।
विज्ञप्तिमा पोखरेलले महाधिवेशनका क्रममा उठाएका मुद्दाहरूले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्, “यसपटक आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने नेकपा एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रूपमा रहिरहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।”
त्यस्तै, उनले महाधिवेशन अवधिमा उठाइएका महत्वपूर्ण विषयहरू पार्टीभित्र थप बहस र छलफलका साथ अगाडि बढ्ने अपेक्षा व्यक्त गरेका छन्। “जनताको बहुदलीय जनवादको प्रकाशमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, तथा पार्टीलाई सही र लोकतान्त्रिक ढंगले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तको पालना जस्ता विषयहरूले नयाँ स्तरमा निरन्तरता पाउनेछन्,” पोखरेलले उल्लेख गरेका छन्।
पोखरेलले भनेका छन् –
नेकपा ( एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन ( २०८२ मंसीर २७- पुस ३ ) सम्पन्न भएको छ । महाधिवेशनमा निर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाइ तथा कार्यकालको सफलताको शुभकामना ! महाधिवेशनमा योगदान पुर्याउनु हुने महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई धन्यवाद व्यक्त गर्दछु ।
प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू – जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन , पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन ‘ को सिद्धान्तको पालन आदि महत्वपूर्ण विषयहरूले बहस र छलफलले नयां स्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।
आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु । नेकपा (एमाले) को निर्वाचित नयां नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् – हार्दिक शुभकामना व्यक्त गर्दछु ।

























