ललितपुर । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र क्रमशः चलायमान बन्दै गएको बताएका छन् ।
गोरखापत्र संस्थानको आयोजना तथा गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले हालका तथ्याङ्कले नेपालको अर्थतन्त्र पुनरुत्थानको दिशामा अघि बढिरहेको पुष्टि गर्ने धारणा व्यक्त गरे।
उनले युवापुस्ता जेनजीको आन्दोलनपछिका तीन महिनामा अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको उल्लेख गर्दै यस अवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए।
“पछिल्लो तीन महिनामा करिब १० प्रतिशतको हाराहारीमा राजस्व बढेको छ। उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ। अन्तरिम सरकारले छोटो अवधिमै सुधार गर्दै लगानीको वातावरण तयार गरेको भन्दै चिनियाँ लगानीकर्ताले समेत प्रशंसा गरेका छन्,” मन्त्री खनालले भने।
अर्थमन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान, तरलता व्यवस्थापन तथा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको पनि बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गोरखापत्रले ज्ञानको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। पुराना पत्रपत्रिका अध्ययन–अनुसन्धानका लागि अर्थविद्हरूका लागि उपयोगी हुने बताउँदै उनले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधारमा जोड दिनुपर्ने आवश्यकता औंल्याए। सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न राष्ट्र बैंक तत्पर रहेको उनले बताए।
गभर्नर डा. पौडेलले निजी क्षेत्रलाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले देशमा स्थायित्व कायम हुने विश्वास व्यक्त गरे।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले समाचारसँगै बहसको माध्यमबाट नेपाली अर्थतन्त्रमा देखिएका रिक्तता पूर्ति गर्दै चुनौती चिर्न र आशा जगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए।
उनका अनुसार आर्थिक पुनरुत्थान, लगानीको वातावरण निर्माण तथा भविष्यका विकास रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकारवाला निकायबीच साझा मञ्च सिर्जना गर्ने लक्ष्यसहित पहिलोपटक ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एण्ड रिजिलेन्स’ आयोजना गरिएको हो।
पहिलो संस्करणको यस डिस्कोर्समा ‘स्मार्ट पूर्वाधारः विकास र व्यवस्थापन’, ‘कस्तो मनोबल?’ र ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ शीर्षकमा तीनवटा छलफल सत्र सञ्चालन हुनेछन्। विसं १९५८ मा प्रकाशन सुरु भएको गोरखापत्र नेपालको पहिलो समाचारपत्र हो।
























