काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना सुरू भएको छ । सबै भोटिङ मेसिनबाट चिप्स निकालेर एकत्रित गरेपछि गणना थालिएको निर्वाचन समितिले जनाएको छ ।
समितिका सदस्यहरुका अनुसार ३ देखि साढे ३ घण्टामा नतिजा आउने छ भने बीचबीचमा गणना अपडेट सार्वजनिक गरिनेछ ।
एमालेको ३०१ सदस्यीय कमिटीका लागि ६४२ जना मैदानमा छन् । कुल २२ सय ६३ प्रतिनिधिमध्ये २२ सय २७ भोट खसेको छ ।
एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित उठेका छन् ।
निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।
त्यस्तै महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् । पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ ।

























