काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा मतदान अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार बुधबार बिहानदेखि सुरु भएको मतदान प्रक्रिया अहिले समापन हुन लागेको हो।
२२६३ महाधिवेशन प्रतिनिधिमध्ये करिब ३८/३९ जनाले टोकन लिएका छैनन्। एमालेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले एक जनालाई मतदान गर्न ९ मिनेटदेखि २ घण्टा ५ मिनेटसम्म समय लागेको जानकारी दिए। उनका अनुसार सरदर एक व्यक्तिलाई ३० देखि ३५ मिनेट लागिरहेको छ। हाल मतदान गर्न बाँकी १०० जनाभन्दा कम संख्यामा रहेको छ।
एमालेमा ओली र पोखरेल प्यानलबीच प्रतिस्पर्धा छ। महासचिवमा ओली प्यानलबाट शंकर पोखरेल र ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेको भिडन्त छ। दुवै एमालेका वैचारिक र निस्कलंक छवि बनाएका नेता हुन्। ओली समूहबाट उपाध्यक्षमा रामबहादुुर थापा, विष्णुप्रसाद पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तको उम्मेदवारी । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदावरी परेका छन्। त्यस्तै सचिवमा शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराई, खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्माकुमार अर्याल र यामलाल कँडेलको उम्मेदवारी परेको छ।
ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट, बृन्दा पाण्डे, अरुण नेपाल र टंकप्रसाद कार्की र पर्शुराममेघी गुरुङ उपाध्यक्षमा उम्मेदवार भएका छन्। उपमहासचिवमा योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल र बैजनाथ चौधरी छ। सचिवमा विनोद ढकाल, अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन्।
१९ पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी तथा दुई आयोगको लागि प्रतिनिधिले मतदान गर्नुपर्नेछ । एमालेले मतदान सकिए लगत्तै मत गणना प्रारम्भ गर्ने जनाएको छ। आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

























