काठमाडौं । निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत रूपमा मतदानस्थल तथा मतदान केन्द्र तोकेको छ। आयोगका अनुसार प्रदेश राजधानीलाई मतदानस्थल बनाउँदै बुधबार मतदान केन्द्र निर्धारण गरिएको हो।
कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, विराटनगरमा पुगेर मतदान गर्नुपर्नेछ। त्यसैगरी मधेश प्रदेशको मतदान केन्द्र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरमा रहनेछ।
गण्डकी प्रदेशका मतदाताले प्रदेश निर्वाचन कार्यालय, पोखरामा मतदान गर्नेछन् भने लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र, घोराहीलाई मतदान केन्द्र तोकिएको छ। कर्णाली प्रदेशको मतदान केन्द्र प्रदेश निर्वाचन कार्यालय, वीरेन्द्रनगरमा रहनेछ भने सुदूरपश्चिम प्रदेशका मतदाताले प्रदेश निर्वाचन कार्यालय, धनगढीमा पुगेर मतदान गर्नुपर्नेछ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा ‘क’ मतदान केन्द्रमा प्रदेश सभा सदस्यहरूले मतदान गर्नेछन्। त्यस्तै ‘ख’ मतदान केन्द्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) ले मतदान गर्ने व्यवस्था गरिएको छ।
आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचनको मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

























