काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ। एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक गरिने जानकारी दिएका छन् ।
मतदान स्थल भृकुटीमण्डपमा आयोजित प्रेस ब्रिफिङमा गौतमले मतदान सम्पन्न भएको दुई घण्टाभित्रै नतिजा सार्वजनिक गरिने बताए।
उनका अनुसार कुल मतदाता संख्या र प्रयोगमा रहेका भोटिङ मेसिनको क्षमतालाई आधार मानेर समय व्यवस्थापन गरिएको छ। “एक जनालाई मतदान गर्न औसत २० मिनेट लाग्ने र एकपटकमा ८० जनाले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ,” उनले भने, “यसअनुसार करिब आठदेखि साढे आठ घण्टाभित्र मतदान सकिने तयारी छ, र निर्वाचन आयोगले दिएको तालिकाअनुसार प्रक्रिया अगाडि बढिरहेको छ।”
यसैअनुसार मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरी आजै राति नतिजा सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए।
























