काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कञ्चनपुरस्थित टनकपुर व्यारेजबाट नेपालतर्फ सिँचाइका लागि नहरमा पानी छोड्न भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् ।
राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत बुधबार बिहान ब्रह्देवस्थित टनकपुर व्यारेजको निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा दुवै देशका संयन्त्रमार्फत तथा द्विपक्षीय भेटघाटमा निरन्तर छलफल भइरहेको र पत्राचारसमेत जारी रहेको जानकारी दिए।
उनका अनुसार कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा पुर्याउन नेपालतर्फ मुख्य नहरसहित शाखा र प्रशाखा नहरको निर्माण पूरा भइसकेको छ। यसका आधारमा भारततर्फबाट पानी छोड्ने निर्णय छिट्टै आउने विश्वास उनले व्यक्त गरे।
नेपाल–भारतबीचको एकीकृत महाकाली सन्धिअनुसार नेपालले हिउँदमा ३०० क्युसेक र वर्षायाममा १,००० क्युसेक पानी पाउने व्यवस्था छ। सन्धि बमोजिम सिँचाइका लागि आवश्यक संरचनाहरू निर्माण भइसकेका छन्।
हालसम्म करिब ९ अर्ब रुपैयाँ लगानी भइसक्दा पनि पानी सञ्चालन नहुँदा अपेक्षित प्रतिफल नआएको भन्दै स्थानीयस्तरमा आलोचना हुँदै आएको छ। पानी नचल्दा निर्माण गरिएका संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ।
महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार र भूमिगत सिँचाइबाट ५ हजार गरी कुल ३३ हजार हेक्टर क्षेत्रफलमा दिगो सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। आयोजनाको कुल अनुमानित लागत ३५ अर्ब रुपैयाँ रहेको छ।
























