काठमाडौँ । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुले मतदान गर्न थालेका छन् ।
मतदानस्थलमा अध्यक्षका उम्मदेवार ओली आइपुग्ने अघिदेखि नै पोखरेल मतदातासँग मत मागिरहेका थिए ।
मतदान हिजै गर्ने तालिका भए पनि उम्मेदवारको संशोधित सूचीका कारण विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ र फन्ट सपोर्ट नगरेको कारण आज बिहानलाई सारिएको थियो ।
३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्दैछन् । केही सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । एकजनालाई भोट हाल्न ३५ देखि ४० मिनेटसम्म लाग्ने बताइएको छ । निर्वाचन आयोगले एक पटकमा ५० जनालाई मतदानको व्यवस्था गरेको छ ।
केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएका छन् । केन्द्रीय निर्वाचन आयोगको विवरणअनुसार ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने एक महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।
३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ । ३०१ केन्द्रीय कमिटीका लागि ६०३ उम्मेदवार रहेका छन् ।
कसरी मतदान हुन्छ ?
– मतदान गर्न बुथभित्र प्रवेश गरेपछि त्यहाँ निर्वाचन आयोगले प्रमाणित गरेका मेसिनको टच स्क्रिन डिस्प्ले देखिन्छ। टच स्क्रिन प्यानलमा उम्मेदवारको नाम फोटोसहित देखिन्छ। मतदाताले आफूले चाहेको उम्मेदवारको फोटोमा थिचेर वा टच गरेर मत जाहेर गर्नुपर्छ। आफूले चाहेको उम्मेदवारलाई मतदान गरिसकेपछि उम्मेदवारको फोटोमा स्वष्तिक चिन्ह देखिन्छ। यो भनेको तपाइँको मतदान सदन भयो भनेको हो।
– निर्वाचन आयोगले प्रमाणिकरण गरेको मेसिनमा माथिदेखि तल अर्थात् अध्यक्षदेखि केन्द्रीय सदस्यको अर्डरमा उम्मेदवारको नाम रहेका छन्। पदीय मर्यादाक्रमअनुसार पहिलोलाई मतदान गरेपछि मात्र दोस्रोलाई मतदान गर्न पाइन्छ। जस्तोः अध्यक्ष, उपाध्यक्ष, महासचिव… क्रमैसँग।
– सबै उम्मेदवारलाई गरेको मतदान नम्बरलाई पहिला मेसिनको गणना एकाईले रेकर्ड गर्छ। मतदान सफल भएको संकेत दिन ‘बिप’ आवाज अथवा अडियो सन्देश सुनाउँछ।

























