काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदानको तयारी गरिएको छ। मतदान तालिकाअनुसार आज बेलुका ७ बजेदेखि मतदान सुरु हुने जानकारी दिइएको छ। मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लामबद्ध देखिएका छन्।
यसअघि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। नामावलीअनुसार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तै, पाँच उपाध्यक्ष पदका लागि ११ जना, महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे, तीन उपमहासचिव पदका लागि सात जना तथा नौ सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा छन्। महाधिवेशनबाट एमालेको आगामी नेतृत्व चयन गरिनेछ।
यद्यपि, महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढे पनि मतदान सुरु हुन ढिलाइ हुने सम्भावना रहेको जनाइएको छ। विद्युतीय मतदान उपकरणका सेवा प्रदायक रामलक्ष्मण इनोभेसनका प्रतिनिधि रामप्रसाद रिमालका अनुसार दिउँसो करिब ३ बजे उम्मेदवारको संशोधित तथा अन्तिम नामावली प्राप्त भएपछि मेसिनमा पुनः नाम सच्याउनुपर्ने अवस्था आएको हो।
यसअघि राति १२ बजे प्राप्त नामावलीका आधारमा मेसिनमा नाम सेट भइसकेको भए पनि दिउँसो केही नाममा त्रुटि देखिएको भन्दै सच्याउन अनुरोध आएपछि प्रक्रिया ढिलाइ भएको रिमालले जानकारी दिए। ८० वटा विद्युतीय मतदान उपकरणमा एकैसाथ नाम प्रविष्ट गर्नुपर्ने भएकाले समय बढी लागेको उनको भनाइ छ ।
महाधिवेशनमा सहभागी २,२६३ प्रतिनिधिमध्ये एक पटकमा ८० जनाले मतदान गर्ने व्यवस्था गरिएको छ। यसअनुसार करिब २९ देखि ३० चरणमा सबै प्रतिनिधिको मतदान सम्पन्न हुने अनुमान गरिएको छ। एक जना प्रतिनिधिले मतदान गर्न ३० देखि ३५ मिनेट लाग्ने अनुमान गरिएको छ, जसअनुसार सम्पूर्ण मतदान प्रक्रिया पूरा हुन १६ देखि १७ घण्टा समय लाग्न सक्ने बताइएको छ।
यदि मतदान आजै सुरु भएमा, भोलि दिउँसो १२ देखि १ बजेसम्म मतदान सकिन सक्ने अनुमान गरिएको छ ।

























