काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि उपमहासचिवमा उम्मेदवारी दिएका राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन् ।
गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता लिएको र केन्द्रीय सदस्यको कायम रहेको जानकारी फेसवुक मार्फत दिएका हुन् ।
उनले भनेका छन्, “पार्टीको एघारौँ महाधिवेशनको आज चौथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै, पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु, यसपटक पार्टीले तय गरेको खुला केन्द्रीय सदस्यमा अमूल्य मत पाउने विस्वास लिएको छु । धन्यवाद ।”
पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा भने गौतमको नाम छ । गौतमले उम्मेदवारी फिर्ता लिएसँगै अब ३ उपमहासचिव पदमा ६ उम्मेदवार मात्र कायम भएका छन् ।
उपमहासचिव पदका लागि रघुवीर महासेठ, आनन्द प्रसाद पोखरेल, लेखराज भट्ट, योगेश भट्टराई, विष्णु रिमाल र वैजनाथ चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ ।
























