काठमाडौँ । लामो समयसम्म काम नगरी अलपत्र पारिएका सिँचाइ क्षेत्रका २२ वटा रुग्ण ठेक्का सरकारले तोडेको छ । ती ठेक्काको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
तोडिएका ठेक्कामध्ये बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम (धनुषा) अन्तर्गतका १५ र सुनकोशी–मरिन आयोजनाको १ ठेक्का रहेका छन् । भेरी–बबई आयोजनाअन्तर्गत १ करोड ७६ लाख रुपैयाँ बराबरको र जनकपुरधाम कार्यालयअन्तर्गत १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का खारेज गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोही निर्देशनपछि वर्षौँदेखि समस्याग्रस्त रहेका ठेक्काहरू खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो ।
जलस्रोत तथा सिँचाइ विभागका अनुसार हाल विभागअन्तर्गत २१५ वटा चालू ठेक्का छन्, जसमध्ये ३३ वटा समस्याग्रस्त छन् । तीमध्ये हालसम्म २२ वटा ठेक्का तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए ।
सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको रहेको छ । आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहलगायत सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभीसँग गरिएको ठेक्का सम्झौता तोडिएको हो ।
उक्त आयोजनाका लागि पटेल–रमण जेभीसँग करसहित १४ अर्ब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।




















