काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग वार्ता र संवाद गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो। समितिका सदस्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।
निर्वाचनको अनुकूल राजनीतिक वातावरण निर्माण गर्दै निर्वाचनलाई सहज रूपमा सम्पन्न गराउने उद्देश्यले संवाद र वार्ता गर्न समिति गठन गरिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
यसै बैठकले सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन गरिएका भारतीय २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म भारतबाट नेपाल ल्याउन तथा नेपालबाट भारत लैजान सक्ने व्यवस्था गर्ने निर्णय पनि गरेको छ।

























