काठमाडौँ । नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट उम्मेदवार बन्न लागेका लेखराज भट्ट र भानुभक्त ढकालको पद साटफेर गरिएको छ ।
सोमबार बिहान ओली पक्षले सार्वजनिक गरेको पदाधिकारी सूचीमा भट्टलाई सचिव र ढकाललाई उपमहासचिव उम्मेदवार बनाउने उल्लेख थियो । तर सचिव पदमा उम्मेदवार बनाइएकोप्रति असन्तुष्ट भट्ट अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका थिए । भेटवार्तापछि ढकाललाई सचिव र भट्टलाई उपमहासचिव उम्मेदवार बनाउने सहमति भएको हो ।
माओवादी केन्द्रबाट एमालेमा समाहित भएका भट्ट यसअघि सचिव थिए भने ढकाल स्थायी कमिटी सदस्य मात्र थिए । ढकाल पहिलो पटक पदाधिकारीमा आउन लागेका हुन् ।

























