काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका छन्।
अध्यक्ष ओलीको टिमबाट उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ। तर, प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गरेपछि यस विषयमा थप छलफल जारी रहेको बताइएको छ।
महासचिव पदमा शंकर पोखरेल नै उम्मेदवार बन्ने निश्चित भएको छ। उपमहासचिव पदका लागि विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल उम्मेदवार बन्ने गरी छलफल अन्तिम चरणमा पुगेको छ।
सचिव पदमा लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने तय भएको छ। नयाँ उम्मेदवारका रूपमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा। राजन भट्टराई उम्मेदवार बन्ने भएका छन्।
सचिव पदमा विशाल भट्टराई, ज्वालाकुमारी साह, शेरबहादुर तामाङ र गोरख बोगटी लगायतको दाबी रहेकाले उपमहासचिव र सचिवमा केही परिवर्तन हुन सक्ने आँकलन गरिएको नेताहरुले बताएका छन् ।

























