पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने तथा निर्वाचन हुँदैन भन्ने भ्रम फैलाउने काम कुनै पनि दृष्टिले न्यायोचित नहुने बताएका छन्।
पोखरामा आयोजित प्रदेश सुरक्षा गोष्ठीमा बोल्दै उनले लोकतन्त्रको आधार विधिको शासन र स्वतन्त्र निर्वाचन भएको उल्लेख गरे। उनले भने, ‘लोकतन्त्रको अभिन्न अंग विधिको शासन र स्वतन्त्र निर्वाचन हो। निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कतैबाट पनि गर्नु वा गराउनु उचित हुँदैन।’
लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याइएको सन्दर्भमा गृहमन्त्री अर्यालले यस विषयमा सरकार र गृह प्रशासन सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए। ‘राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा उठाएको विषयमा सरकार र गृह प्रशासनले आवश्यक कार्य गरिरहेको व्यहोरा जानकारी गराउँछु,’ उनले भने।
दलहरूसँगको वार्ता र संवादप्रति पनि सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी रहेको अर्यालले स्पष्ट पारे। ‘यसका लागि सरकार वार्ता, संवाद र छलफलका लागि सधैं खुला छ,’ उनले थपे।
फरार कैदीबन्दीका सम्बन्धमा उनले कुल फरारमध्ये करिब ७० प्रतिशत कैदीबन्दी पुनः नियन्त्रणमा आइसकेको जानकारी दिए। बाँकी कैदीबन्दी पनि फर्किने क्रममा रहेको र यसका लागि गृह प्रशासनले निरन्तर काम गरिरहेको उनले दाबी गरे।

























