काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने प्रयास गरिरहेका बेला बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने आफ्नो समूहबाट पदाधिकारी उम्मेदवारहरू लगभग निश्चित गरेका छन् ।
यो समूहबाट अध्यक्ष पदमा ईश्वर पोखरेल स्वयं प्रतिस्पर्धा गर्ने भएका छन् भने महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगिएको बताइएको छ ।
उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुराम मेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिएका छन् ।
उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ भने बैजनाथ चौधरी पनि उपमहासचिवको उम्मेदवार सूचीमा रहेका छन् ।
त्यस्तै सचिव पदका लागि विनोद ढकाल, रचना खड्का, ठाकुर गैरे, कर्ण थापा, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेललगायतका नाम करिब टुंगो लागेको बुझिएको छ । गोकुल बास्कोटा पनि यो समूहबाट सचिव पदको दावेदार रहेको स्रोतको दावी छ ।
उम्मेदवारहरू प्रायः टुंगिएको र थप छलफल चलिरहेको बताइएको छ ।

























