काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १६ पुगेको छ।
आइतबार यहुदीहरूको हानुका पर्वको अवसरमा भएको कार्यक्रममा अन्धाधुन्ध गोली चल्दा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो।
गोलीकाण्डमा गम्भीर घाइते भएका थप ५ सर्वसाधरण र गोली चलाउने एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १६ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
बन्डी बिचमा झन्डै एक हजार मानिसहरूको भिडभाड रहेको बेला गोली चलेको थियो। उक्त घटनामा ४० जना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि रोयटर्सले जनाएको छ।
तीमध्ये दुई जना प्रहरीको अवस्था गम्भीर छ।
न्यू साउथ वेल्स प्रहरीले दिएको जानकारी अनुसार बन्डी बिच नजिकैको पार्कमा कार्यक्रम भइरहेको थियो।
पार्क नजिकै रहेको पार्किङ नजिकको पुलबाट दुई जना व्यक्तिले भिडतर्फ अन्धाधुन्ध गोली चलाएका थिए।
गोली चलाउने ती दुई जना बाबु-छोरा रहेको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ। उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
गोली चलाउने ५० वर्षीय व्यक्ति भने घटनास्थलमै मारिएका थिए।
उनका २४ वर्षीय छोरा भने गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। अधिकारीहरूले आइतबार भएको यस गोलीकाण्डलाई लक्षित यहूदीविरोधी (एन्टिसेमिटिक) आक्रमणका रूपमा व्याख्या गरेका छन्।
साक्षीहरूका अनुसार अत्यधिक भीडभाड रहेको बेला करिब १० मिनेटसम्म गोली चलेको थियो। अचानक भएको आक्रमणपछि सयौँ मानिस समुद्रकिनार र वरपरका सडकतर्फ भागाभाग गरेका थिए।
प्रधानमन्त्री एन्थोनी अल्बानेजले सोमबार बिहान बन्डाइ बीच पुगेर घटनास्थल नजिक श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले यस आक्रमणलाई राष्ट्रका लागि अँध्यारो क्षण भन्दै यहूदीविरोधी घृणालाई जरैदेखि उखेल्ने प्रतिबद्धता व्यक्त गरे।
घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंसहित विभिन्न विश्व नेताहरूले घटनाप्रति समवेदना व्यक्त गरेका छन्।
ट्रम्पले ह्वाइट हाउसमा आयोजित कार्यक्रममा बन्डीको आक्रमणलाई स्पष्ट रूपमा यहूदीविरोधी आक्रमण भएको बताएका थिए।
अस्ट्रेलियामा सामूहिक गोलीकाण्ड दुर्लभ मानिन्छ।
यसअघि सन् १९९६ मा तास्मानियाको पोर्ट आर्थरमा भएको आक्रमणमा ३५ जनाको मृत्यु भएको थियो। त्यसयता यो सबैभन्दा घातक घटना हो। बन्डी बिचमा सोमबार झण्डा आधा झुकाइएको छ।
यहूदी समुदायका नेताहरूले यस घटनालाई अत्यन्त पीडादायी क्षण भन्दै समुदायबीच एकता र सहकार्य आवश्यक रहेको बताएका छन्। अस्ट्रेलियामा करिब एक लाख ५० हजार यहूदी समुदायका मानिस बसोबास गर्ने अनुमान छ। जसको करिब एक तिहाइ सिड्नीको पूर्वी उपनगर बन्डी आसपासमा रहेका छन्।
बन्डीको घटनापछि बर्लिन, लन्डन र न्युयोर्कलगायत प्रमुख शहरहरूमा हानुका कार्यक्रमका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ। (एजेन्सी)

























