काठमाडौँ । आइतबार अस्ट्रेलियाको बोन्डी बिच (समुद्र तट) मा हनुक्का मनाइरहेका यहुदीहरूमाथि दुई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका छन्।
अस्ट्रेलियाली प्रहरीले गोली लागेर कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने २९ व्यक्ति घाइते भएको जानकारी दिएको छ।
स्थिति नियन्त्रण गर्न प्रहरीले दुवै आक्रमणकारीलाई गोली हानेको छ। अधिकारीहरूका अनुसार एक आक्रमणकारीको मृत्यु भएको छ भने अर्का गम्भीर भएका छन् ।
घटनाका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन्। भिडिओमा उत्तरी बोन्डी बिचमा धेरैवटा शव छरिएको देखिन्छ ।
यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले घटनाले स्तब्ध पारेको बताएका छन् ।
उनले राष्ट्रलाई सम्बोधन गर्दै भनेका छन्, ‘यहुदी जनतामाथिको आक्रमण हरेक अस्ट्रेलियालीमाथिको आक्रमण हो।’
उनले अगाडि भनेका छन्, ‘हाम्रो देशमा घृणा, हिंसा र आतंकवादका लागि कुनै ठाउँ छैन। म स्पष्ट पार्न चाहन्छु- हामी यसलाई पूर्ण रूपमा अन्त्य गर्नेछौँ।’
यस्तै इजरायलका राष्ट्रपति इसाक हर्जोगले यसलाई ‘यहुदीहरूमाथिको आतंकवादी आक्रमण’ भनेका छन्।
उनले एक्समा लेखेका छन्, ‘सिड्नीमा रहेका हाम्रा यहुदी दिदीबहिनी तथा दाजुभाइहरूप्रति हाम्रो गहिरो समवेदना छ, जसलाई आतंककारीहरूले पहिलो हनुक्का मैनबत्ती बाल्न लाग्दा आक्रमण गरे।’
न्यु साउथ वेल्सका प्रहरी आयुक्त एम लान्योनका अनुसार घटना अस्ट्रेलियाको पूर्वी दिवा समयअनुसार आइतबार साँझ ६:४७ बजे बोन्डी बिचको आर्चर पार्कनजिकै भएको हो।
बीबीसी संवाददाता टेसा वोङका अनुसार, यो घटना ‘बोन्डी बिच’को उत्तरी भागमा भिडभाड भएको क्षेत्रमा भएको हो।
उनी भन्छिन्, ‘समुद्र तटपछाडिको घाँसे मैदाननजिकै हनुक्का कार्यक्रम भइरहेको थियो। त्यहाँ एउटा पैदल पुल थियो, जुन मानिसहरूले समुद्र तटमा पुग्न प्रयोग गर्थे।’
टेसा वोङका अनुसार गोली चल्नुभन्दा करिब एक घण्टाअघि मात्र उनले त्यो पुल पार गरेकी थिइन्।
उनी भन्छिन्, ‘त्यहाँ कम्तीमा २०० जना थिए भने ठूलो आवाजमा संगीत बजिरहेको थियो। अनि विभिन्न गतिविधि भइरहेका थिए ।’ (एजेन्सी)

























