काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको कोटा सुनिश्चित गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले प्रत्येक भूभागबाट एक जना ४० वर्षमुनिका युवाको कोटा राख्ने प्रस्ताव पेस गरेका हुन् ।
योसँगै भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनिका एक युवासहित खुला ६ जना र महिला २ जनाको कोटा निर्धारण भएको एमालेले जनाएको छ।
अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरू गरेका छन्। बन्द सत्रबाट सर्वसम्मतिमा नेतृत्व चयन नभएमा मंगलबार विद्युतीय मेसिनबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ।
बन्दसत्रमा अध्यक्ष ओली र अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलको सम्बोधनपछि केन्द्रीय कमिटी बैठकका निर्णय अनुमोदनसहित निर्वाचनसम्बन्धी कार्यतालिका पेस हुनेछ।
यसअघि आइतबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीको संख्या परिवर्तन गरेको थियो।
भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा शनिबार एमालेको ११औँ महाधिवेशनको उद्घाटन गरिएको थियो ।

























