काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटीमण्डपमा केहीबेर अघि बन्दसत्र प्रारम्भ भएको हो, जहाँ सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
आज बिहान ९ बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण ढिलो भई दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो ।
हिजो शनिबार भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन सम्पन्न भएको थियो । बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनबाट गरिएको निर्णय उल्ट्याउँदै केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी कायम रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको छ ।

























