काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सविता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट निलम्बन गरेको छ।
सार्वजनिक पदमा नियुक्त भएपछि उनी केही विवादमा जोडिएको भन्दै ट्रान्सपरेन्सीको कार्यसमितिले उक्त निर्णय गरेको हो। कार्यसमितिका एक सदस्यका अनुसार संस्थाका आफ्नै मूल्यमान्यता र विश्वास रहेकाले संस्था वा त्यसका पदाधिकारीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको सम्बोधन आवश्यक ठानिएको हो।
‘विवाद सुरु भएदेखि नै सहजीकरणका लागि उहाँलाई राजीनामा दिन सुझाव दिएका थियौं,’ ती सदस्यले भने, ‘तर उहाँले त्यसलाई अस्वीकार गरेपछि हाललाई अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरिएको हो।’
उनका अनुसार सम्बन्धित विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनर्विचार हुनसक्नेछ। सविता भण्डारी बराल एकातिर सार्वजनिक पदमा पुगेको र अर्कोतर्फ उनले नै गर्नुपर्ने निर्णयहरूबारे सार्वजनिक वृत्तमा प्रश्न उठेपछि कार्यसमितिले कदम चालेको जनाइएको छ।
विश्वव्यापी रूपमा भ्रष्टाचारको अनुगमन र भ्रष्टाचारविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ। वरिष्ठ अधिवक्ता समेत रहेकी सविता भण्डारी बराल संस्थाकी साधारण सदस्य हुन् र यसअघि पटक–पटक कार्यसमितिमा निर्वाचित भइसकेकी थिइन्।

























